2076-11-20 Press Meet of 2nd Manmohan International Gold Cup Tug of War Outdoor Championship 2020

2076-11-20 उद्घोष दैनिक
3 Mar 2020

दुहबी: दुहवीमा मनमोहन अन्तर्राष्ट्रिय स्वर्णकप डोरीतान च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । मंगलवार दुहवीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यले दोस्रो अन्तर्राष्ट्रिय स्वर्णकप डोरीतान प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी –५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा शुक्रबारदेखि सुरू हुने डोरीतान स्वर्णकप प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरी १० खेल टोलीको सहभागिता हुने जनाइएको छ ।

फागुन २४ गते सेमीफाइनल र फाइनल खेल हुने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डोरीतान संघका केन्द्रीय उपाध्यक्ष सुभासश्री पोखरेलले प्रचार प्रसारको अभावमा ओझेल परेको डोरीतान खेललाई अन्य खेलकुद जस्तै संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालभर ३२ जिल्लामा डोरीतान संघको समिति गठन भएको तथा सुनसरी–मोरङका सबै स्थानीय तहमा गठन भएकोले २ वर्ष भित्रमा नेपालभर प्रदेश, जिल्ला र स्थानीय तहमा विस्तार गरिने पोखरेलले जनाए ।

सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन खेलकुद प्रतिष्ठान तथा मोरङ डोरीतान संघको सहकार्यमा हुने अन्तर्राष्ट्रिय डोरीतान स्वर्णकप प्रतियोगितामा ३६ लाख ७२ हजार ८ सय खर्च हुने आयोजकले जानकारी दिएको छ ।

सो प्रतियोगिताको निर्णय लिग र नकआउट गरी विभिन्न चरणमा हुने बताइएको छ । सो प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद एक लाख ट्रफी पदक तथा प्रमाणपत्र र दोस्रो हुने टोलीलाई नगद पचास हजार, ट्रफी, पदक प्रदान गरिने जनाइएको छ ।

सुनसरी जिल्ला डोरीतान संघले दुहबीमा १ वर्ष अगाडि नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्वर्णकप डोरीतान प्रतियोगिता गरिसकेको छ । सो प्रतियोगितामा नेपाल प्रहरीको विभागीय टोली सशस्त्र प्रहरीले भारतको विहारलाइ पराजित गर्दै उपाधि चुमेको थियो ।

विश्वकै पुरातन खेल मध्येको एक डोरीतान खेलमा दुबैतर्फबाट ८–८ जना खेलाडी सहभागी हुन्छन् । खेलको नियमअनुसार ८० फिटको डोरीलाई दुबैतर्फबाट एक अर्काले तानेर आफ्नोतर्फ डोरी तान्न सफल हुने खेलाडीहरूले जित हासिल गर्छन् ।

खेलमा एकतर्फका ८ जना खेलाडीहरू ६ सय केजी भन्दा बढी तौल हुन नपाउने नियम छ । नेपालमा पनि यो खेलको प्रवद्र्धन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त, डोरीतान अन्तर्राष्ट्रिय महासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ गठन गरिएको हो ।

पत्रकार सम्मेलनमा डोरीतान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, मोरङ डोरीतान संघका अध्यक्ष रिता न्यौपाने, डोरीतान संघ सुनसरी–मोरङका पदाधिकारीहरू लगायतको उपस्थिति थियो । सुनसरी जिल्ला डोरीतान संघका सचिव युवराज चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।