24 Feb 2025 - Press Meet on 3rd National Tug of War Competition

काठमाडौं  २०८१-११-१२ । राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १६ र १७ गते हुने भएको हो । आयोजक नेपाल डोरी तान संघले सोमबार प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । महिलातर्फ भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ ६४० केजी र महिलातर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फको स्पर्धा पहिलोपटक समावेश गरिएको हो ।

 

पुरुषतर्फको विजेताले एक लाख, उपविजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा महिलातर्फको विजेताले ५०, उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा समापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले गर्नुहुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३१ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
pressrelease2081